हाम्रो पार्टी ४ महिनापछि देशकै ठूलो बन्छ : मेटमणि

नेपालखोज २०७८ भदौ ९ गते १६:२६

काठमाडौं ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ ।

निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएसँगै नेपाल पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो ।

नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र पाउने भएको छ । सनाखतपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा पार्टीका नेता मेटमणी चौधरीले हालमा ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत गरेको र विक्रम शाही, सोमप्रसाद पाण्डे,रामप्रित पासवान र राजन राई ४ जनाको सनाखतका बारेमा निर्वाचन आयोगमा छलफल भएको जानकारी दिए ।

सांसदहरुमा सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टको पनि सनाखत गर्न निर्वाचन आयोगले दिए ३४ जना सांसद पुग्ने उनको भनाइ छ । ५६ मध्ये भाष्कर काफ्ले बाहेक, ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत भएको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल अहिले भारतमा उपचाररत रहेपनि उनको सनाखत भएको नेता चौधरीले जानकारी दिए ।

नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) पार्टी ४ महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्ने बताए । नेपाल पक्षका सांसदहरुको दल दर्ताको निवेदनपछि निर्वाचन आयोगले सनाखतका लागि आज (बुधवार) ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।

प्रतिक्रिया