‘कांग्रेसको वैधानिकता जोगाउन नेतृत्व गम्भीर बनोस्’

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिईरहेका छन ।
सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका उनले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे ।
पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उनको जोड छ ।
पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो समेत गरेका छन् । पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने उनको विश्वास छ ।

प्रतिक्रिया