शनिबार, असार १४, २०८२

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम भएको चेतावनी

नेपालखोज २०७८ भदौ १० गते ९:४२

काठमाडाैं । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका बीबीसीले जनाएकाे छ । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ ।

दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् ।

१० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन् ।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा गरेको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि यूके र अमेरिकाको यस्तो सुझाव आएको हो ।

आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताएका थिए । भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ । काबुलबाट प्राप्त विवरणहरूका अनुसार तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा पनि स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए ।

उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताएका थिए । बीबीसी

प्रतिक्रिया