पार्टी विधानअनुरुप सदस्यता विरतण भएन : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् ।
प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौंले शोभाभगवतीमा आज गरेको मल्यार्पण कार्यक्रममा उनले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप वितरण नभएकाले समस्या देखिएको दाबी गरे ।
क्रियाशील सदस्यता विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रियाअनुसार टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।
‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘विधि-प्रक्रियाअनुसार महाधिवेशन गर्नुपर्छ । पारदर्शी तरिकाले पार्टीलाई अगाडि बढाउनुपर्छ ।’
साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि-विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनको आरोप छ । कार्यक्रममा कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, पूर्वमन्त्री राजेन्द्रकुमार केसीलगायत नेता-कार्यकर्ताको सभागिता थियो ।
-तस्बिर : यूपी लामिछाने

प्रतिक्रिया