बुधबार, वैशाख १७, २०८२

मनाङका सरकारी कार्यालयमा प्रमुखविहीन

नेपालखोज २०७८ भदौ १० गते १४:१८

मनाङ । जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ ।

मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित रहेका छन् ।

त्यस्तै बाढीपहिराका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर रहेका छन् ।

विद्युत् मर्मत तथा सम्भारका साथै विद्युत् आपूर्तिका लागि काम गर्नुपर्ने अवस्थामा सडक सञ्जालको समस्या देखाउँदै उनले जिल्ला बाहिर रहेनु परेकाे बताए ।

कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपत् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताए । रासस

प्रतिक्रिया