मंगलबार, वैशाख २५, २०८१

भाइ गुमाएको पीडासँगै मुख्यमन्त्रीको शपथ !

नेपालखोज २०७८ भदौ १० गते १४:५६

विराटनगर । भदौ १० गते बिहीबार बिहानीको समय । एकातिर दाजु मुख्यमन्त्री बनेर परिवारमा खुसीयाली छाउने माहोल बन्दै थियो । अर्कातिर सोच्दै नसोचेको घटना भयो । दाजु मुख्यमन्त्री हुनै लाग्दा भाइ सोहीदिन बिहान ओछ्यानमै मृत भेटिए । यो घटना हो आज (बिहीबार) मात्रै प्रदेश १ का मुख्यमन्त्री भएका भीम आचार्यको परिवारको ।

केही दिनअघिदेखि भीम मुख्यमन्त्री बन्ने दौडधुपमै थिए । राजनीति प्रतिकूलताका कारण मुख्यमन्त्री शेरधन राईले पनि राजीनामा दिएर आचार्यलाई नै मुख्यमन्त्री बनाउने निधो गरिसकेका थिए । प्रदेश १ आज (बिहीबार) बिहानैदेखि पनि संसदीय दलको बैठक बस्ने चाँजोपाँजो मिल्दै थियो ।

मुख्यमन्त्री बनेपछि साथीभाइ, दलका नेता–कार्यकर्ता तथा परिवारका सदस्यबीच पक्कैपनि खुसी साटासाट हुन्थ्यो । मुख्यमन्त्री भएर पारिवारिक इतिहास बनाउँनै लागेका दाजुले बिहानै अशुभ समाचार सुन्नुपर्‍यो । भाइ ओछ्यानमै मृत भेटिएको सुन्नेबित्तिकै मुख्यमन्त्री हुनु र नहुनु भीमलाई केही लागेन । मलिन मुहारमा मुख्यमन्त्रीको शपथग्रहणमा सहभागी हुँदा आफ्नो भाइ गुमाउनु परेको पीडा नै पीडाले भरिएको थियो उनको मन ।

नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ राम आचार्य बिहीबार बिहान मृत भेटिएका हुन् । ५९ वर्षीय आचार्य इनरुवा नगरपालिका ३ स्थित घरमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल गएर हेर्दा उनी मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ । झ्याल ढोका लगाएर सुतेको अवस्थामा उनी ओच्छ्यानमै मृत फेला परेका हुन् । मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राममा मुधमेह, उच्च रक्तचाप र डिप्रेसनको समस्या थियो ।
क्याप्सन : नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य बिहीबार बिहान मृत भेटिएपछि घरमा पुगेका प्रहरी

प्रतिक्रिया