संसारमा कतिले लगाए कोरोना भ्याक्सिन ?

काठमाडौं । कोरोनाविरुद्ध सारा संसारको लडाइँ जारी छ । यो भाइरससँग लड्न अहिले कोरोनाविरुद्धको खोप नै प्रमुख हतियार साबित भएको छ ।
त्यसैले पनि संसारका सबैजसो देशले भ्याक्सिनेसनलाई पहिलो प्राथमिकतामा राखेका छन् र खोप अभियानलाई तीव्रसाथ सञ्चालन गरिरहेका छन् । यस क्रममा कतिपय देशले आफ्नो जनसंख्याको ५० प्रतिशत मनिसलाई कोभिडको खोप दिइसकेका छन् भने कतिपय देशमा भ्याक्सिनेसन प्रक्रिया निकै सुस्त छ । अहिलेसम्म संसारका ५ विलियनभन्दा बढी मानिसलाई कोभिडको भ्याक्सिन दिइसकिएको बताइन्छ ।
नेपालमा कुल जनसंख्याको १३ प्रतिशतले खोपको दुवै डोज पाएको खबर केही अघि सार्वजनिक भएको थियो । नेपालमा यो वर्ष (२०७८) भरिमा पूरै जनतालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
उता संसारको तुलनात्मक अध्ययन गर्दा के पाइन्छ भने युनाइटेड अरब इमिरेट्स संसारका सारा देशलाई पछाडि छाड्दै खोप लगाउने मामिलामा सबैभन्दा अगाडि छ । यूएईले अहिलेसम्म आफ्नो कुल जनसंख्याको ८६ प्रतिशत मानिसलाई कोभिडको भ्याक्सिन दिइसकेको छ । महत्त्वपूर्ण कुरा के भने त्यसमा पनि ७६ प्रतिशत जनसंख्याले भ्याक्सिनको दुवै डोज पाइसकेको छ ।
संसारका कैयन् देशमा उनीहरुको कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी मानिसले दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । यस्ता देशमा सिंगापुर, अमेरिका, कतार, क्यानाडा, इटाली, जर्मनी, यूके, डेनमार्क, इजरायल, स्पेन, भुटान, फ्रान्स, माल्दिभ्स, बेल्जियम आदि प्रमुख छन् ।
अर्कातिर कैयन् देशमा कुल जनसंख्याको ५० प्रतिशतले पनि कोभिडको खोप पाएको छैन । यसका कैयन् कारण छन् जस्तो- खोपको कमी, ठूलो जनसंख्या, स्वास्थ्य व्यवस्थामा कमजोरी आदि । अहिलेसम्म ५० प्रतिशत जनसंख्याले पनि खोप नपाएका देशमा नेपालसहित भारत, रूस, पाकिस्तान, जापान, ब्राजिल, चीन, टर्की, पनामा, श्रीलंका आदि प्रमुख छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया