कांग्रेसले एमाले फुटाएको होइन : विश्वकर्मा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच सहमति भैसकेको उनको भनाइ छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले माधव नेपालले पनि सरकारमा सहभागी हुने बताएकोले सरकारलाई पूर्णता दिन केही ढिलाई भएको जिकिर गरे ।
भोलि साँझसम्म मन्त्रिपरिषद् विस्तार भैसक्ने उनले बताए । उनले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नल्याएको भए संसद् र सरकारको पूर्ण कार्यकाल सुनिश्चित्ता गर्न नसकिने बताए । उनले आफूहरुको कारण एमाले विभाजन नभएको पनि स्पष्ट पारे । लोकतन्त्रमा दल विभाजन हुन दुःखद् भएको उनको टिप्पणी थियो ।
उनले भने,‘अहिले एमाले अप्ठ्यारोमा छ । नेताहरुको अभिव्यक्ति आक्रोशित छ । एमाले नेताहरुको प्रश्नको जवाफ दिन थालियो भने हामी पनि अलमलमा पर्छौं । १६ पुगी १७ लाग्दा यस्तै हुन्छ नि भन्ने गीतजस्तै पार्टी फुट्दा यस्तै हुन्छ । छोडेर जानेहरुलाई सत्तोसराप गर्ने प्रचलन हो । एमाले र माओवादी केन्द्र जोडद ४५ लाख मत थियो । कांग्रेस एक्लैले ३५ लाख प्राप्त गरेको थियो । जनमत कांग्रेसको ठूलो हो । गएको निर्वाचनमा केही ट्याक्टिस, हावादारी कुरा नगर्दा, रेल, तेल र सुरुङको कुरा नगर्दा हामी परीणाममा दोस्रो भयौं ।’
उनले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया