सभामुखले जोगाइदिए एमालेले कारबाही सिफारिस गरेका १४ सांसदको पद

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गरेका छन् ।
२०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने निर्णय गरेको पत्र संघीय संसदलाई पठाएका थिए ।
एमालेले कारबाहि गरेको जानकारी गराएको १२ दिन पछि सभामुख सापकोटाले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय गरिएको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई कारबाही गरिएको पत्र पाएको १५ दिनभित्र निर्णय गर्नुपर्ने ब्यबस्था अनुसार सभामुख सापकोटाले निर्णय गरेको बताए ।
सभामुखको यो निर्णय सँगै सांसदहरु माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

प्रतिक्रिया