शनिबार, जेठ ५, २०८१

काबुलमा अमेरिकाको ‘एयर स्ट्राइक’ : विमानस्थल बन्यो अशान्त

नेपालखोज २०७८ भदौ १३ गते २२:२४

काठमाडौं । काबुल विमानस्थलनजिक अमेरिकाले एक विस्फोट गराएको छ । अमेरिकाले भनेको छ- हामीले मानवरहित ‘एयर स्ट्राइक’ गर्‍यौं र हाम्रो ‘टारगेट’ सफल रह्यो ।

अमेरिकाबाट ‘एयर स्ट्राइक’ को पुष्टि
अमेरिकाको सेन्ट्रल कमान्डका प्रवक्ता बिल अर्बनले भनेका छन्- ‘अमेरिकी सेनाले आज काबुलमा एक वाहनमाथि हवाई हमला गर्‍यो, जसबाट हामिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आईएसआईएस-के को सम्भावित आत्मघाती आक्रमण टरेको छ । हामीलाई विश्वास छ कि हामीले आफ्नो लक्ष्य सफलतापूर्वक पूरा गर्‍यौं । हामी यो घटनामा मारिएका नागरिकहरुको आकलन गरिरहेका छौं, तर महत्त्वपूर्ण कुरा के भने काबुल विमानस्थलमाथि हुन लागेको एउटा ठूलो आत्मघाती आक्रमण टरेको छ ।’

तालिबानका प्रवक्ताको बयान
तालिबानका प्रवक्ताका अनुसार अमेरिकी सेनाले हवाई हमलामा एउटा गाडीमा बसेका आत्मघाती हमलावरलाई निशाना बनाएको छ । जो अमेरिकी सेना स्वदेश फर्कनुअघि काबुल विमानस्थलमा हमला गर्ने सुरमा थियो । प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकारहरुलाई पठाएको एक सन्देशमा भनेका छन्- यो हमला आज (आइतबार) भएको हो ।

काबुल विमानस्थलनजिक भएको अमेरिकी ‘एयर स्ट्राइक’मा आत्मघाती दस्ता भएको एउटा गाडी ध्वस्त भएको बताइएको छ । तालिबानका अनुसार आईएसआईएस-के का लडाकु बोकेको उक्त गाडीको ‘टारगेट’ काबुल विमानस्थल थियो ।

फक्स न्युज भन्छ- अमेरिकाले हमला गर्‍यो
फक्स न्युजका अनुसार अमेरिकाले मानवरहित ड्रोनबाट बमबारी गरेको छ । जसका कारण एकपटक फेरि काबुल विमानस्थल आतंकित भएको छ । यो हमला विस्फोटक पदार्थले भरीएको एउटा कारमाथि गरिएको थियो जुन विमानस्थलतर्फ गइरहेको थियो ।

रोयटर्सले के भन्यो ?
न्युज एजेन्सी रोयटर्सले अमेरिकी अधिकारीहरुको हवाला दिँदै अमेरिकाले काबुलमा संदिग्ध आईएसआईएस-के का आतंकवादीलाई निशाना बनाएको जनाएको छ ।

अल जजिराको दाबी- अमेरिकाले आत्मघाती हमलाकारीलाई सिध्यायो
तालिबानी सूत्रको हवाला दिँदै अल जजिराले दाबी गरेअनुसार अमेरिकाले आत्मघाती दस्तामाथि हवाई हमला गरेको छ । यो आत्मघाती दस्ता काबुल विमानस्थलमा हमला गर्ने उद्देश्यले अघि बढिरहेको थियो ।

विस्फोटपछि विमानस्थलको चारैतर्फ ‘साइरन’
विमानस्थलनजिक आवासीय क्षेत्रमा रकेट हमला भएपछि त्यहाँ चारैतिर धुवाँ देखिन्छ । विमानस्थलमा भागाभाग चलेको छ । विमानस्थलको चारैतिर साइरन बजेको सुनिन्छ ।

एक बालक र दुईको मृत्यु
काबुलको आवासीय घरनजिक भएको यो रकेट हमलामा एक बालक र दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया