भक्तपुर मालपोतद्वारा ४५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता

नेपालखोज २०७८ भदौ १४ गते १२:२७

काठमाडौं । भक्तपुर मालपोत कार्यालय वर्षोदेखि भुमाफियाहरुको सेटिङमा चल्ने गरेको देखिएको छ । महालेखा परिक्षकको ५८ वार्षिक प्रतिवेदनमा उल्लेख भएको भक्तपुर मालपोतमा भएको बेथिती सम्बन्धी घटनाले पनि उक्त कुराको पुुष्टि भएको हो ।

महालेखाको उक्त प्रतिवेदन अनुसार भक्तपुरमा ४५ रोपनी सरकारी जग्गा गैरकानुनीरुपमा व्यक्तिहरुको नाममा दर्ता गरिएको छ । मालपोत ऐन २०३४ मा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्न नहुने र दर्ता भएमा स्वतः बदर हुने व्यवस्था रहेको छ ।

तर मालपोत कार्यालय भक्तपुरको कार्यक्षेत्रको साविक दिव्यश्वरी गाविस ७ ख कित्ता नं २४५ को ४५ रोपनी १५ आना जग्गा फिल्ड बुक र जग्गाधनी श्रेस्ता अनुसार नेपाल सरकारको नाममा कायम नै भई विवरणमा नदी उल्लेख भएकोमा नापी कार्यालयको निर्णयले २०३७ असोज २० गते कित्ताकाट भई कित्ता नम्बर २५७ मा ४ रोपनी ४ आना र कित्ता नम्बर २५८ मा ४१ रोपनी ११ आना जग्गा कायम भएको देखिन्छ ।

यसरी कित्ताकाट भएका मध्ये कित्ता नम्बर २५७ को जग्गा २०४९ भदौ १९ को मिलापत्र दाखिला खारेजको तथा २०४९ कात्र्तिक ५ को हालैको बकसको निर्णयबाट ५ जनाको नाममा र कित्ता नम्वर २५८ को जग्गा २०४६ माघ १९, २०४७ भदौ २१ गते तथा २०५० भदौ २३ को राजीनामा पासको निर्णयले कित्ताकाट भई दुई इण्डष्ट्रिज समेत आठ जनाको नाममा जग्गा धनीपुर्जा कायम भएको देखिन्छ ।

नेपाल सरकारको नाममा श्रेष्ता कायम भएको सार्वजनिक जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गर्ने कार्य कानुुन विपरित महालेखाले भनेको छ । यो घटनाको आवस्यक छानबिन गरी सो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुपर्दछ, महालेखाले भनेको छ ।

प्रतिक्रिया