शनिबार, जेठ ५, २०८१

अमेरिकाले अफगानिस्तान छाड्यो, काबुलमा उत्सव

नेपालखोज २०७८ भदौ १५ गते ७:२५

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध अन्त्य भएको घोषणा गरेको छ । तोकिएको समयसीमा अर्थात् अगस्त ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ ।

योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको हो । सन् २००१ मा अलकायदाले आफ्नो देशमा आतंककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो ।

११, सेप्टेम्बर २००१ का दिन आतंककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्त्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो । एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना बनाएको थियो ।

लगत्तै अलकायदा प्रमुख ओसामा बिन लादेनलाई तत्कालीन तालिनबान सरकारले संरक्षण गरको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सत्ताच्यूत गरेको थियो ।

उसलाई नेटोअन्तर्गतका सहयोगी राष्ट्रहरुले साथ दिएका थिए । तर फेरि तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो । अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता भएसँगै तालिबान समर्थक शक्तिले काबुलमा उत्सव मनाएका छन् । त्यसक्रममा काबुलमा भीषण गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया