शनिबार, जेठ ५, २०८१

युरोपमा कोरोनाको कहर, अफ्रिकामा नयाँ भेरियन्ट सी.१.२

नेपालखोज २०७८ भदौ १५ गते ७:३०

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशहरुमा कोरोना भ्याक्सिनेसनको सुस्त गतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनको आशंका छ कि कोरोना नियन्त्रणमा असफलताका कारण आउँदो नोभेम्बरभित्र युरोपमा दुई लाख ३५ हजारजति मानिसको मृत्यु हुन सक्छ ।

यतिबेला युरोपमा कोरोनाको डेल्टा भेरियन्टले आतंक मच्चाइरहेको छ । युरोपमा अहिले भ्याक्सिनेसनको रफ्तार पनि सुस्त भएको छ । यसअघि सम्म विश्व स्वास्थ्य संगठनले गरिब देशको भ्याक्सिनेसनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो । गरिब देशहरुमा भ्याक्सिनेसन नपुगेकै कारणले केही युरोपेली देशमा खोपको बुस्टर डोज दिने कुरालाई लिएर विश्व स्वास्थ्य संगठनले अनिच्छासमेत जाहेर गरेको थियो ।

यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोप शाखा प्रमुखले अमेरिकी सरकारको शीर्ष संक्रामक रोग विशेषज्ञको के कुरामा सहमति जनाएका छन् भने कोभिड-१९ को खोपको तेस्रो डोजले अतिसंवेदनशील क्षेत्रमा भएकाहरुलाई संक्रमणबाट जोगाउन मद्दत पुर्‍याउँछ । डब्ल्यूएचओको युरोप शाखा प्रमुख डा. हेन्स क्लुगेले संक्रमणको अधिक प्रसारलाई चिन्ताजनक बताउँदै डब्ल्यूएचओ युरोप क्षेत्रमा पर्ने ५३ मध्ये ३३ वटा देशमा गएको एक सातामा कोरोनाका बिमारीहरुमा १० प्रतिशतभन्दा बढि वृद्धि देखिएको जानकारी दिएका छन् ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्टको चिन्ता
कोभिड-१९ को नयाँ-नयाँ भेरियन्ट अहिले संसारकै चिन्ताको विषय भएको छ । यस क्रममा डेल्टा भेरियन्टपछि दक्षिण अफ्रिकामा सि.१.२ नामको नयाँ भेरियन्ट फेला परेको बताइएको छ । एक अध्ययनमा यो भेरियन्ट संसारभर फैलन सक्ने आशंखा व्यक्त गरिएको छ भने यो भेरियन्टमा हाल उपलब्ध कुनै पनि कोरोना भ्याक्सिन प्रभावहीन हुने बताइएको छ ।

दक्षिण अफ्रिकाको नेसनल इन्स्टिट्युट अफ कम्युनिकेबल डिजिज (एनसीआईडी) को अध्ययनअनुसार कोरोनाको यो नयाँ भेरियन्ट सि.१.२ हालसम्म देखिएका सबै भेरियन्टभन्दा बढी संक्रामक हुन सक्छ । अफ्रिकामा यो भेरियन्ट गएको मे महिनामा फेला परेको थियो । त्यसपछि यो नयाँ भेरियन्ट सि.१.२ का बिरामी चीन, कंगो, मरिसस, यूके, न्यूजिल्यान्ड, पोर्चुगल, स्विट्जरल्यान्ड आदि देशमा फेला परिसकेको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा ।

प्रतिक्रिया