कोभिडको अवस्था हेरि विद्यालय खुलाइने

सिमकोट । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय संचालन गर्न सक्ने अधिकार दिएको छ ।
सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए ।
जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरि गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ ।
गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय संचालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए ।
ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सबै विद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा पनि विद्यालयहरु संचालन हुँदै आएका थिए । रासस
प्रतिक्रिया