काबुल विमानस्थल तालिबानको नियन्त्रणमा, अब कसरी होला नेपालीको उद्धार ?

नेपालखोज २०७८ भदौ १५ गते १४:२८

काठमाडाैं । अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भए पनि त्यहाँ अझै बाँकी रहेका नेपालीहरूको उद्धार प्रयासलाई निरन्तरता दिइने नेपाली अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म ८२८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अधिकारीहरूका अनुसार काबुलमा अझै पनि ३४ जना नेपालीहरू उद्धारको पर्खाइमा छन् ।

तर अमेरिकासहित विभिन्न देशले अघि बढाएको उद्धार कार्य बन्द गरिएसँगै उनीहरूलाई तत्कालै नेपाल फर्काउने प्रयासमा असर पर्न सक्ने देखिएकाे बीबीसीले जनाएकाे छ । अहिले काबुल विमानस्थल तालिबानको नियन्त्रणमा पुगिसकेको छ।

अब कसरी होला उद्धार ?

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा द्रुत प्रतिकार्य टोली गठन गरी दिल्लीबाट नेपाली दूतावासले सघाइरहेको बताएको छ । नेपाली राजदूत नीलाम्बर आचार्यले अझै पनि अफगानिस्तानबाट एउटा समूहको उद्धार गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘हामीले करिबकरिब आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको उद्धारको काम सम्पन्न गरेका छौँ। तर एउटा सानो समूह अझै काबुलमा नै छ। उहाँहरूको पनि आजभोलिमा नै उद्धार होला भन्ने हामीले आशा गरेका छौं ।’

उनले नेपाल सरकारको सम्पर्कमा नआएका व्यक्तिहरू अझै पनि अफगानिस्तानमा हुनसक्ने भन्दै तालिबानले काबुल विमानस्थलमा नियन्त्रण कायम गरिसकेको पछिल्लो अवस्थामा पनि उद्धारको प्रयास अघि बढ्ने उल्लेख गरे ।

राजदूत आचार्य भन्छन्, ‘हाम्रो सम्पर्कमा जो आउनुहुन्छ उहाँहरूमार्फत् पनि अरू नेपाली छन् कि भनेर सम्पर्क गर्ने प्रयास गरिरहेका हुन्छौँ । अहिले हेर्दा हाम्रो उद्धार लगभग पूरा भएको जस्तो देखिन्छ। तर जेजति बाँकी हुनुहुन्छ उहाँहरू पनि सुरक्षित हुनुहुन्छ र उहाँहरूलाई पनि एउटा भरपर्दो कम्पनीले हेरविचार गरिरहेको छ र छिट्टै काबुलबाट बाहिर लैजान सकिने सम्भावना छ।’

हालसम्म विभिन्न देश, कम्पनी र संयुक्त राष्ट्रसङ्घीय निकायहरूको सहयोग लिएर उद्धार कार्य अघि बढाइएको अधिकारीहरूले बताउँदै आएका छन् ।

राजदूत आचार्यले नेपालीहरूको उद्धारमा भारतसहित अन्य मित्रराष्ट्रबाट सहयोग प्राप्त भएको र अफगानिस्तानबाट झन्डै एक हजार नेपालीहरू यसबीचमा निस्किएको उल्लेख गरे । बीबीसी

प्रतिक्रिया