निशाको स्वास्थ्य अवस्था सुधार भएन

नेपालखोज २०७८ भदौ १५ गते १७:१६


काठमाडौं। मोडल तथा कलाकार निशा घिमिरेको उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन ।
नर्भिक इन्टरनेशनल हस्पिटलले दिएको जानकारी अनुसार निशालाई अक्सिजनकै सपोर्टमा सीसीयूमा राखेर उपचार गरिएको छ । आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन् ।
उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’
नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन् । हालसम्म नर्भिकमा निशाको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ ।
दुर्घटनामा परेर तीन वर्षदेखि अस्पतालमा छटपटाइरहेकी कलाकार निशाको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नु पर्ने अवस्था आएको बताइएको छ ।
मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएको बेलामा नर्भिककी प्रबन्ध संचालक चौधरीले उनको उद्धार गरेकी थिइन् ।

प्रतिक्रिया