वाग्मतीको प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

नेपालखोज २०७८ भदौ १५ गते २०:५८

काठमाडाैं । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदले मंगलबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका छन् ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ सांसदहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दाबी गर्ने स्पष्ट पारे ।

आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ ।

निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्नेबित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ । त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए ।

उनले भने, ‘यो सनाखत भएको छ, अरु साथीहरु पनि थप हुन्छन् । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ । त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद् सचिवालयमा पेस गर्छाैं, हाम्रो दलको संख्या यति छ भनेर । र हामी नेकपा एमालेमा छैनौं भनेर पेस गर्छाैं । त्यो पेस गरेको दिनदेखि नै अहिलेको सरकार अल्पमतमा पर्‍यो । यो सरकारको अर्को ठाउँ छैन । अरु सांसद थपेर सरकार अड्याउने कुनै ठाउँ हुँदैन । अवको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाई नै अघि सारिएको छ । सबै दलको सहमतिको क्यान्डिडेट हो म ।’

नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताए ।

प्रतिक्रिया