‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

नेपालखोज २०७८ भदौ १६ गते ६:५५

झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड-१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा मंगलबार विभिन्न कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेष रुपमा मनाउने गर्छन् ।

मेचीनगर नगरपालिका ७, मदनबस्तीमा राजवंशी युवाले चिल्लो बासको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे । प्रतियोगितामा मेचीनगर ७ का देवलाल राजवंशी प्रथम भए । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो । ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यताअनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउँथे । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान श्रीकृष्णको आराधना गरिन्छ ।

हिलो भएको स्थानमा अग्लो बाँसको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बास चढेर नरिवल र नगद हात पार्ने प्रतिस्पर्धा गर्छन् । बास चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बासका टुप्पोमा पनि तेल राख्ने गरिन्छ । यसबाट चढ्न खोज्दा बास हल्लिएर झन् चिल्लो हुन्छ ।

स्थानीय पुनलाल राजवंशीले यो खेल परापूर्वकालदेखि चलिआएको बताए । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडका रुपमा लिने गरेका छन् । कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीय युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दाबी गरे । -रासस
-तस्बिर विकिपिडिया

प्रतिक्रिया