२९ वर्षपछि शय्या विस्तार

खोटाङ । पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ । २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम सुरु गरिएको हो ।
अस्पतालमा सञ्चालित बिरामी भर्ना, सुत्केरी गराउने ठाउँ, शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा. वैभव मल्लिकले बताए । ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ हुने चारतले आरसीसी पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर/रामसुन्दर नेपाल/फूलबारी जेभीले लिएको छ ।
संघीय सरकारको करिब २१ करोडमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इन्जिनियर राजकिशोर साहले जानकारी दिए । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रि-फ्याबको अस्थायी भवन निर्माण सुरु गरिएको छ ।
चारतले पक्की भवनको पहिलो तलामा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स–रे कक्षसहित फार्मेसी, सेक्युरिटी रुमलगायत संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू र आइसोलेसन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायत संरचना निर्माण गरिने जनाइएको छ ।
जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम सुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले जानकारी दिए । ‘सुविधायुक्त अस्पताल नहुँदा जिल्लाका कतिपय बिरामी चर्को मूल्यमा हेलिकोप्टर चार्टर्ड गरेर अन्यत्र उपचारमा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘आगामी दिनमा सबै किसिमका बिरामीलाई जिल्लामै सेवा उपलब्ध गराउने गरी अस्पताल स्तरोन्नतिको काम सुरु गरिएको हो ।’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेका समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।
स्थापनाकालकै भवन तथा आवास गृहमा सञ्चालित अस्पताल तोकिएको समयसम्म चिकित्सकसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उनीहरु तोकिएको अवधिसम्म नबसेको बताइएको छ । अस्पतालमा बसेका चिकित्सकलाई बिरामीको उपचार गर्न आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । कतिपय उपकरणकै अभावमा बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा तीन सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौंलगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।
विभिन्न कारणले स्वास्थ्य समस्या झेल्दै आएका जिल्लावासी ढिलै भए पनि अस्पतालको सेवा विस्तार गर्न लागिएकामा हर्षित छन् । स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म विस्तार नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त उपकरणका भरमा सञ्चालन हुँदै आएको छ । विशेषगरी जिल्लामा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङ्कङ तथा बेलायतमा रहेकाले अस्पतालका लागि आवश्यक उपकरण उपलब्ध गराएका छन् । -रासस

प्रतिक्रिया