पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारीसाधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्यांफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।
यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले-पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायत स्थानमा जाने ग्रामीण सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।
बिरामीलाई डोको तथा थुन्सेमा बोकेर स्वास्थ्य संस्थासम्म लैजानुपरेको जनाइएको छ । के-कति किलोमिटर सडक क्षति भयो भन्न एकिन जानकारी भने छैन । यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
गत साता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन चौबीस घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाइ भन्सार कार्यालयबाट जाँचपास भएका मालवाहक सवारी सहज रूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।
स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना-ठूला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक नियमित गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।
स्याफ्रुबेंसीदेखि रसुवागढी खण्डको १६ किमि क्षेत्रमा भने दिनहुँ सडकमार्ग अवरुद्व हुने समस्या बढेको छ । हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोसी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ । -रासस
-फाइल तस्बिर

प्रतिक्रिया