सापकोटाविरुद्ध परेकाे रिट हेर्न नमिल्ने सूचीमा

नेपालखोज २०७८ भदौ १६ गते १३:०५

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । बुधबार (आज) प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको भएपनि अन्तिममा हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।
२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रे बाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गर्नु परेको थियो ।सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत २०७६ असार २५ गते आदेश जारी गरेको थियो ।करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ भने हुन सकेको छैन ।

प्रतिक्रिया