दाङको सिस्नेखोलाले कार बगाउँदा ४ महिलाको मृत्यु

दाङ । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका ४, सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
रुपैडिहामा किनमेल गरेर फर्कंदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमै शव फेला परेको थियो । यस्तै घोराही १३ की ४० वर्षीया रीतामाया पुन र घोराही १४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो ।
बेपत्ता भएकाको शव आज बिहान ३ बजेतिर प्रहरीले घोराही ३, बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।
गाडी चालक घोराही १५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया