पहिरोमा परेर तीनको मृत्यु, एकजना बेपत्ता

कास्की । अविरल वर्षाका कारण पहिरोमा परेर पोखरामा तीनजनाको मृत्यु भएको छ । पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चारजना घाइते भएका छन् ।
लगातारको वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका २०, भलाममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया पत्नी सुनमाया तामाङ छन् । पहिरोमा परि उनका ३ वर्षीय छोरा सन्तोष बेपत्ता छन् । घाइते ८ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
त्यसैगरी पोखरा ११, भञ्ज्याङ नमुना टोलमा पहिरोले घर पुरिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि घाइते भएका दुईजनाको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार पोखरा ११, काँहुमा पहिरोले घर पुरिँदा एकैघरका तीनजना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न संघ-संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया