नेपाल भन्छन्- मन्त्रिपरिषद् विस्तारबारे २३ गतेसम्म कसैले चुइक्क पनि गर्दैन

काठमाडाैं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।
अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार (आज) बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए ।
सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारहरूसँग कुराकानीमा २३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए ।
यस्तैअध्यक्ष नेपालले मन्त्रीपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिएका छन् ।
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे । केपी ओली र उनका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग कुनै पनि हालतमा एकता नगर्ने पनि बताएका छन्। उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दाबीसमेत गरे । यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि आजै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया