बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी

काठमाडाैं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिइएको छ ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षा बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमशः खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्तिविकास रोकिएको स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायतको समस्या देखिएको उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो । सहमति भएको ३० दिन बितिसक्दा पनि कार्यान्वयन नभएपछि संघर्ष समितिले गत शुक्रबार एकहप्ते अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शुक्रबार सकिने र आइतबारदेखि थप कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया