पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँचजनाको मृत्यु भएको छ । तीनजना पुरिएर बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका ३, दुर्लुङमा पाँचजना पुरिएकामा दुईजना मृतावस्थामा फेला परेका छन् ।
पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनीता पौडेलको शव निकालिएको छ । घरका तीनजना बेपत्ता रहेको हुँदा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
यस्तै कुश्मा नगरपालिका ११, पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका ५, अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।
हेलम्बु राजमार्ग लगातार अवरुद्ध
गएरातिदेखिको लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १३, मेलम्ची-जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ । -रासस
प्रतीकात्मक तस्बिर

प्रतिक्रिया