पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : शेरबहादुर देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।
पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरे ।
साथै उनले लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।
लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताए ।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको छ । संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई देउवाले हार्दिक अनुरोध गरे ।
आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गर्दै बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न पार्टीका हरेक तहहरूलाई आग्रह गरेका छन् ।
कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको बताउदैँ उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण समेत गरेका छन् ।
यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्याउनुे सभापति देउवाले विश्वास लिएका छन् ।- रासस

प्रतिक्रिया