वायु सेवा निगमको भावी कार्यदिशा तयार गर्न उच्च स्तरीय समिति बनाउन सुझाव

काठमाडाैं । अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमको भावी कार्यदिशा तयार गर्न र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न उच्च स्तरीय समिति बनाउन सुझाव दिएको छ ।
शुक्रबार (आज) अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउन पहल गर्नुपर्ने बताएका छन् । समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले निगम सुधारको लागि गतिलो खालको राजनैतिक नेतृत्वको आवश्यकता रहेको बताए। यस्तै पर्यटन सचिव यादव कोइरालाले सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगमले प्रगति गर्न नसक्ने बताए ।
छलफलमा निगमका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनैतिक विकल्पका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
आज भएको छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा। सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी रहेका थिए

प्रतिक्रिया