आइतबार, वैशाख २३, २०८१

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिँदै

नेपालखोज २०७८ भदौ १८ गते १७:५५

काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका भएका छन् । कोरोना भाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक वर्षमै उनि जिम्मेबारीबाट बाहिरिन लागेका हुन् । उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।

उनको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्ने छन् । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्ने जनाइएको छ ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताएका थिए । प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिए ।

उनले अघिल्लो वर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाएका थिए । लामो समय जापानको नेतृत्व गरेका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक वर्ष मात्रै जापानको नेतृत्व गर्ने भएका छन् ।

प्रतिक्रिया