बिहीबार, जेठ २, २०८२

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउने

नेपालखोज २०७८ भदौ १८ गते २२:२३

काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवर्द्धन, जलविद्युत् र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुण तिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनु पर्ने बताए ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुण तिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पहुँच र बजारका लागि आफूले पहल गर्ने बताए । ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनु पर्नेछ,’ उनले भने । दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दै उनले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरे ।

‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनले भने । छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्दै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।

प्रतिक्रिया