‘मेरो घरको बिरालो अहिले देउवाको भान्सामा म्याउ गर्न पुग्यो’

नेपालखोज २०७८ भदौ १९ गते १७:४३
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उनले एमसीसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए ।

अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गरेका छन् । उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भनेर सरकारलाई चेतावनी दिए ।

अध्यक्ष ओलीले भने, ‘अहिले तपाईहरुले देख्नु भएको छ । अव चीनसँग कुनै सीमा विवाद छदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु पर्‍यो ? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई म चुनौति दिएर भन्न चाहन्छु–यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न । भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । यिनै मान्छेहरु हुन । काँग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला । बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के भन्छन त ? भन्नु पर्दैन । शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साईन गर्नु भएको थियो त । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाए । अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गरे ।

सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौति दिए । उनले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष ओलीले माधव नेपाल जस्तो लाजसरम पचेको मान्छे आफूले कहीँ पनि नदेखेको टिप्पणी समेत गरे । माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनँले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याउ गरेर पुगेको व्यंग्य समेत गरे । माधव नेपालले पतनको बाटो रोजेको पनि उनले उल्लेख गरे ।

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नरहेको पनि दोेहोर्‍याएका छन् । उनले भूमि समस्या समाधान आयोग खारेज गरेर सरकारले गरिवमारा चरित्र देखाएको आरोप समेत लगाए ।

प्रतिक्रिया