‘उठेका आशंका अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै एमसीसी प्रक्रिया अघि बढ्छ’ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सह-महामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे । नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्न सरकारले अमेरिकी सरकारसमक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।
उनले भने– ‘यो विषय कैयौं सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । योचाहिँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदै छ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दै छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडी बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ । कतिपय विषयहरु यो छ कि उ छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेशनको लागि सरकारले पहल गरिराखेको छ । त्यो स्पष्ट क्लेरिफिकेसन आए पछि यसले पनि एउटा ल्यान्डिङ गर्छ भन्ने कुरा मलाई लाग्छ । पब्लिकमा यस्तो छ कि उस्तो छ कि भन्ने आशंका छ । धेरैले पढ्या छैनन् । प्रचार धेरै कुरा भएको छ । त्यस विषयमा अमेरिकी सरकारले अवश्य ति कुराहरु क्लेरिफाइ गर्ला, पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडी बढ्नेछ भन्ने मलाई लाग्छ ।’
सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रिको नाम पाउना साथ मन्त्रिपरिषद् बिस्तार हुने बताए । नेपाली कांग्रेसभित्र भने मन्त्रिको विषयमा समस्या नरहेको र मन्त्रिको नाम तय भइसकेको उनको भनाई छ ।

प्रतिक्रिया