शुक्रबार, वैशाख १४, २०८१

‘अमिताभकै व्यवहारले एक करोड जितें’

नेपालखोज २०७८ भदौ २० गते १६:०९

काठमाडौं । अमिताभ बच्चन– ‘विल्कुलै सही जवाफ’, महिला– ‘आ..आ..एस..एस..एस…’ यो खुसीको आवाज हो ‘कौन बनेगा करोडपति’ मा सहभागी विजेता एक महिलाको । अमिताभ बच्चन प्रश्न सोध्दै जान्छन्, उनी फटाफट उत्तर दिन्छिन् । कुनै बेला अमिताभले उनलाई दोधारमा राख्न खोज्छन् । तर उनको आत्मविश्वासकै कारण दोधारमा पर्दै–पर्दिनन् । सही जवाफ दिन्छिन् र एक करोड रुपैयाँ हात पारेर घर फर्किन्छिन् । दृष्टिविहीन पनि केही गर्न सक्छन् भन्ने उदाहरण हुन् एक करोड जित्ने उनी ।

विश्वमा धेरैजसोले अवसर नपाएर प्रगति गर्न नसकेका उदाहरण थुप्रै छन् । अवसर पाएकाले विश्वमा ‘नम्बर वन’ काम गर्न सकेका उदाहरण पनि छन् । भनिन्छ उनीहरूको आँखाले भौतिक संसार नदेखे पनि भित्री आँखाले देखिरहेको हुन्छ । शिक्षाको अवसर दिइए दृष्टिविहीन पनि अद्भूत क्षमतावान् हुन सक्छन् भन्ने उदाहरण भारतको आग्राकी एक महिलाले देखाएकी छिन् । उनी हुन्, कौन बनेगा करोडपति सिजन–१३ मा एक करोड जित्न सफल हिमानी बुन्देला । उनी सिजन–१३ मा एक करोड जित्ने प्रथम व्यक्ति पनि बनेकी छन् ।

आजभोलि भारतीय सञ्चारमाध्यममा उनी खुब चर्चित छिन् । उनी दृष्टिविहीन हुन् । दृष्टिविहीन पनि अद्भूत क्षमताका हुन्छन् भन्ने उनीबाट उत्कृष्ट उदाहरण मान्न सकिन्छ ।

बुन्देला र बुन्देलाको परिवार यतिबेला खुसीयाली साट्नमै व्यस्त छ । यता बुन्देलाले अभिताभ बच्चनको अद्भूत व्यवहारले आफूमा ऊर्जा थपिएको जनाएकी छन् । उनले ‘कौन बनेगा करोडपति’ का सञ्चालक अमिताभ बच्चनलाई एक अद्भूत तथा व्यवहारिक व्यक्ति भएको प्रतिक्रिया दिएकी छिन् । बुन्देलाले अमिताभको विशेष व्यवहार जीवनभर नभुल्ने जनाएकी छन् । उनी आग्रामा २५ वर्षदेखि शिक्षण पेसामा आबद्ध छिन् ।

बुन्देलाले सात करोड जित्ने ‘ज्याक पट’ प्रश्नको उत्तर दिने अवसर पनि पाइन् । तर, सही उत्तर नआएपछि उनले उत्तर नदिइ कार्यक्रमबाट बाहिरिने निर्णय गरेकी थिइन् । सात करोड जित्नका लागि अमिताभले हिमानीलाई सोधेको प्रश्न यस्तो थियो– ‘डा. बीआर अम्बेडकरले लन्डन स्कुल अफ इकोनोमिक्समा पेस गरेको थेसिसको नाम के थियो, जुन थेसिस लेखिसकेपछि अम्बेडकरलाई विद्यावारिधिको उपाधि दिइएको थियो ।’ उनलाई यस प्रश्नको उत्तर दिन चारवटा विकल्प दिइएका थिए । उनी सही विकल्प छान्न असमर्थ भइन् । सात करोड हात लाग्ने प्रश्नको उत्तर दिन नसकेपछि एक करोड भने जोगाएकी छिन् ।

‘गेम शो’ मा एक करोड जितेपछि उनले अभिताभ बच्चनको आवाज सुनेर, उनको उपस्थितिले मात्रै आफ्नो आत्मविश्वास बढाएको प्रतिक्रिया दिएकी छन् । उनी भन्छिन्, ‘हामीले सधैं अमिताभ भद्र छन् मात्रै सुनेको हो । टेलिभिजनमा सबैले देखेका मान्छे पनि हुन् । तर, व्यक्तिगत रूपमा मैले यो अनुभव बटुलें कि उनी सकारात्मक ऊर्जा दिने विशेष, व्यवहारिक तथा अद्भूत व्यक्ति हुन् ।’

एक करोडको उत्तर दिनुअघि हिमानीले अमिताभसँग ‘पानी छ कि ?’ भनेर सोधिन् । ‘अवश्य’ भन्दै कम्प्युटर स्क्रिनको छेउमै पानीले भरिएको गिलास अमिताभले हिमानीलाई दिए । अमिताभको यो सहयोगप्रति हिमानीले ‘उहाँ अझ व्यवहारिक भएको अनुभूति भयो’ भन्दै प्रतिक्रिया जनाइन् । हिमानी भन्छिन्, ‘आफू मात्रै होइन अमिताभको व्यवहारले मेरा बुबा, आमा र परिवारका सबै सदस्यहरूले सम्मानित भएको अनुभूति गरेका छन्, यो मेरो जीवनको महत्त्वपूर्ण क्षण हुनेछ ।’

‘फर्स्ट ट्रिपल टेस्ट’ भन्दा अगाडि अमिताभको परिचय दिँदाको आवाज, कौन बनेगा करोडपतिको संगीत र कार्यक्रम स्थलमा नमस्कार भन्दै अमिताभले प्रवेश गर्दा आफूले सबै बिर्सिएको हिमानीको प्रतिक्रिया छ । उनले आफू सधैं अभिताभ बच्चनको ‘गेम शो’ टीभीमा सुन्दा उत्साही हुने गरेको, तर प्रत्यक्ष भेट्दाको क्षण फरक भएको टिप्पणी गरेकी छन् ।

‘कौन बनेगा करोडपति’ सपना झैं लागे पनि यथार्थमा सत्य साबित भएको भन्दै हिमानीले खुसी व्यक्त गरेकी छन् । अमिताभ बच्चनले सोनी इन्टरटेन्मेन्ट टेलिभिजनमा एक महिना अघिदेखि ‘कौन बनेगा करोडपति सिजन–१३’ चलाइरहेका छन् ।

प्रतिक्रिया