नेपालले दक्षिण-पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्षका रुपमा काम गर्ने

नेपालखोज २०७८ भदौ २० गते १६:५७

काठमाडौं । नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्षका रुपमा काम गर्ने भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् । यस्तै विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) को क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक नेपालमा हुने भएको छ ।

बैठकको आयोजक र अध्यक्षको जिम्मेवारी नेपालले पाएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा भर्चुअल माध्यमबाट हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन् । यी सबै देशका स्वास्थ्य मन्त्रीहरु, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य मुलुकका बरिष्ठ स्वास्थ्य अधिकारीहरुलगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।

नेपालले पछिल्लो पटक सन् २००९ मा यस क्षेत्रीय समितिको सत्र संचालन गरेको थियो । बैठकमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुका साथै कोरोना भाइरसलगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरुमा छलफल हुनेछ ।

यसका साथै उक्त सत्रमा नेपालले प्रस्ताव गरे अनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा गहन छलफल हुनेछ ।

प्रतिक्रिया