नेकपा (एकीकृत समाजवादी) ले तोक्यो स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरुको जिम्मेवारी

नेपालखोज २०७८ भदौ २० गते १८:३४

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । आईतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए ।

उनका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा. वेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरिएको छ ।

पार्टीको दैनिक कार्य सम्पादन गर्नको लागि वेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको पनि कार्यालय सचिव डा. तुलाधरले जानकारी दिए । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी डा. गंगालाल तुलाधरलाई दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश नम्बर २ को इन्चार्जमा धर्मनाथ शाह, वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपाने, गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, कर्णाली प्रदेशको इन्चार्ज प्रकाश ज्वालालाई तोकिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने पछि तय गरिने पार्टीले जनाएको छ ।

कार्यालय सचिव तुलाधरले स्थायी कमिटीको दुईवटा बैठक बसिसकेको र स्थायी कमिटीमा माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पूर्व नेकपाको अवस्थामा रहेको स्थायी समितिका सदस्यहरु रहेको बताए । अहिले दु्रत गतिमा पार्टीका कामहरु अघि बढेको बताउँदै सचिव तुलाधरले विभिन्न विभागहरुको नाम, केन्द्रिय कार्यसमितिका सदस्यहरुको कार्यविभाजनको खाका तयार गर्ने, जिल्ला–जिल्लामा केन्द्रिय प्रतिनिधिहरु पठाउनेलगायतका मुख्य एजेण्डाहरुमा पार्टीले छलफल गर्ने बताए ।

कार्यालय सचिव तुलाधरले अहिले विभिन्न पार्टीका नेताहरुसँग नेकपा (एकीकृत समाजवादी) पार्टीमा आउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन् ।

प्रतिक्रिया