विदेशी पर्यटक भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग

नेपालखोज २०७८ भदौ २० गते १९:३०

काठमाडौं । पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टिनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् । संघका अध्यक्ष लामाले पिसिआर टेष्ट गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर टेष्ट गरी तत्काल गन्तब्यमा पुर्‍याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । उनले पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

अध्यक्ष लामाले भने, ‘हामीले यस अघि नै सरकारलाई भनेका थियौं–उताबाट पिसिआर टेष्ट गरेर आउँछ । यहाँ पनि हामीले लिने र त्यसपछि गन्तव्यमा पठाउने व्यवस्था गर्नुपर्छ । सरकारले यो सबभन्दा बढि मिस गरेको विषय हो । त्यो प्लान अगाडि नै गरेको भए, त्यो पोहोर पनि धेरै टुरिष्ट आउथ्यो । अझ पनि क्याविनेटले त्यसो गर्ने निर्णय गरि सकेको छैन । त्यसले कति मान्छेलाई नेपाल आउन अडकाएको छ । अव सरकारले नीतिगत निर्णय गरेर उनीहरुलाई आउन ओपन छ भनेर भन्नु पर्‍यो ।’

संघले टुरिष्टहरुका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलहरुको व्यवस्था मिलाउन सस्तो व्याजदरमा लोन प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ । अध्यक्ष लामाले पर्यटन क्षेत्रमा आवद्ध भएकाहरुलाई विना धितो लोनको व्यवस्था गर्नुपर्ने माग समेत गरे । उनले भने, ‘ट्राभल, ट्रेकिङ र होटलहरुलाई चाँही सस्तो व्याजदरमा लोन प्रवाह गर्नुपर्‍यो । अव माउन्टेन र माउन्टेन गाईडहरुका लागि विना धितो लोनको व्यवस्था गर्नुपर्दछ ।’

यता, हिम आरोही सानु शेर्पाले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी आवश्यक वातावरण बनाउन सरकारलाई दवाव दिए । उनले १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था गरेर विदेशी पर्यटकहरु नेपाल आउने अवस्था नआउनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

त्यस्तै, ट्रेकिङ गाइड फूडोमा शेर्पाले जसरी भएपनि विदेशी पर्यटक आउने गरी आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले विदेशी पर्यटकहरु नेपाल नआएकै कारण नेपालको पर्यटन क्षेत्र थला परेको पनि स्मरण गराए । पर्यटक व्यवसायीहरुले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढदा नेपालको पर्यटक क्षेत्र फष्टाएर जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया