‘अठार वर्ष पैंतालीस किलो, रक्तदान गर्न नगरौं ढिलो’

नेपालखोज २०७८ भदौ २१ गते ९:४६

काठमाडौं । ‘अठार वर्ष पैंतालीस किलो, रक्तदान गर्न नगरौं ढिलो’ बोलको रक्तदान जागरण गीत सार्वजनिक भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा गीत सार्वजनिक कार्यक्रममा रक्तदानसमेत गरिएको थियो ।

गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन् भने यमन श्रेष्ठ र निशा देशारले स्वरमा साथ दिएका छन् । गीतको शब्द रचना स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले गरेका हुन् । गीतको रेकर्डिस्ट एवं मिक्सिङ भोला पौडेल, कोरस गायिका सुष्मा लिम्बू र दीपा तामाङ, सारंगी वादक हेमन्तकान्छा रसाइली, धिमेरखींरभुस्यास् बादक लक्ष्मी डंगोल र बाँसुरी बादक गोपालदेव घतानी हुन् ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूणा झा, नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वा, रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकारलगायतको सहभागिता थियो । कार्यक्रममा रक्तदान गर्ने सबै स्वयंसेवी रक्तदातालाई तथा जागरण गीत उत्पादनमा संलग्न सर्जकहरुलाई प्रशंसा-पत्रसँगै सम्मान गरिएको थियो । कार्यक्रममा गायक श्रेष्ठ र गायिका देशारले उक्त गीत प्रत्यक्ष रुपमा गाएका थिए ।

यस्तो छ गीतको बोल :
अठार वर्ष पैंतालीस किलो
रक्तदान गर्न नगरौँ ढिलो
खुसीका साथ शुभारम्भ गरौँ
जीवन रक्षार्थ रक्तदान गरौँ !

भन्न सकिन्न, कुन बेला कसलाई
चाहिन सक्छ रगत हामी जो कसैलाई
हाम्रो रगतले बच्छ कसैको ज्यान
रक्तदानलाई बनाऔँ आफ्नो अभियान
चाहिनेलाई दिँदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान, रक्तदान, रक्तदान गरौँ !

रक्तदान नै जीवनदान हो
जीवन बचाउनु हाम्रो काम हो
शुभकार्यमा ढिला नगरौँ
जाऊँ साथी आजै,अहिलै रक्तदान गरौँ
चाहिनेलाई दिँदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान, रक्तदान, रक्तदान गरौँ !

प्रतिक्रिया