‘फोहोर व्यवस्थापन गर्न औपचारिक जानकारी आएको छैन’

नेपालखोज २०७८ भदौ २१ गते १६:३०

काठमाडौं । दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ ।

शहरी विकास मन्त्रालयले सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ ।

तर कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नसक्नेबारे औपचारिक जानकारी नआएको बताउछन् ।

बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनःफोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कमपासहित १८ स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताए ।

समन्वयविना फोहरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरुपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।

अठार दिनपछि गत बुधबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उठ्न थालेकोमा सबै स्थानको फोहर सझैसम्म व्यवस्थापन हुन सकेको छैन । फोहर उठ्न थालेको छ दिन हुँदासम्म काठमाडौँका मुख्यमुख्य चोक सफा हुन सकेको छैन । कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर उस्तै छ ।

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।

लामो समयदेखिको फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने बताइएको छ । “धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भने रोकिएको समयमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको छ ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । रासस

प्रतिक्रिया