निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

नेपालखोज २०७८ भदौ २२ गते १७:०६


काठमाडाैं । मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गरे । मुख्यसचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्नुपर्ने भनाइ राखे।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताए । उनले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिए । उनका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८ सेवारत छन् ।

निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउन माग गरे । पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईंले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गरे ।

सोही कार्यक्रममा यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो ।

यसवर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन् । सरकारले यसवर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । रासस

–––

प्रतिक्रिया