‘कर्मचारी देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्छ’

काठमाडाैं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन्।
निजामती सेवा दिवसको अवसरमा उनले शुभकामना सन्देशमा जारी गर्दै कर्मचारीले पेसागत दक्षतालाई कायम राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले राज्यका नीति, योजना र कानुनको तर्जुमा तथा त्यसको कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।
‘जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिलेकाे राष्ट्रको आवश्यकता छ,’ उनले सन्देशमा भनेका छन्, ‘निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं ।’
प्रदेश प्रमुख गुरुङले राष्ट्रसेवक कर्मचारीमा आफू साधनस्रोतको परिचालन एवं शक्तिको प्रयोग गर्ने शासक नभइ आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुन आवश्यक भएकाे भन्दै सन्देशमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी वर्गलाई आजको दिनले मुलुकको विकास र सुशासनका लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिल्ने उल्लेख गरेका छन् ।-रासस
–––

प्रतिक्रिया