लगानी अभावमा विकासका लक्ष्य पूरा गर्न सकिएन : देउवा

नेपालखोज २०७८ भदौ २३ गते १४:४१

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले भने , ‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धिको यात्रातर्फ बढेका छौँ, नेपालले २०२३,०२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रुपमा रुपान्तरित हुने नीति राखेको छ र दिगो विकासको नीति लिएको छ, त्यसैले यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ, तर अहिले वार्षिक रुपमा नेपालमा ६ अर्ब डलर वित्तिय रिक्तता छ, साथै बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा अवरोधलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरेर लगानीमा सहजीकरण गरिरहेको छ ।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताए । लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा ढोका भएको बताउँदै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

उनले लगानी प्रवाहलाई प्रवर्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानुपर्ने बताए ।

अर्थमन्त्री शर्माले लगानी गर्नुको मुख्य उद्देश्य भनेको गरिबीको अन्त्य गर्ने, व्यापार घाटाको अन्त्य गर्ने र देशलाई समृद्ध स्तरमा पुर्याउने भएको बताए । उनले नेपालका विभिन्न स्थानहरुमा लगानी गर्नका लागि विदेशी लगानी कर्ताहरुलाई उत्साहका साथ नेपाल आउने व्यवस्था र वातावरण सिर्जना गर्न सरकार लागि परेको बताए ।

कार्यक्रममा उर्जा तथा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उर्जामन्त्री भुसालले नेपाल सरकारले २०२० देखि २०३० सम्ममा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताए । उनले नेपाल विद्युत उत्पादनको क्षेत्रमा धनी रहेको भन्दै अहिले हाइड्रोपावरको क्षेत्रमा धेरै ध्यान दिइरहेको बताए ।

कार्यक्रममा चिनियाँ कम्पनी ह्वाङ्सी होल्डिङ ग्रुप चाइनाका प्रवन्ध निर्देशक ल्यू सु डोङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी ह्वाङ्सी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको बताए ।

उनले नेपालको एसएच इन्भेष्मेण्ट लिमिटेडसँग सहकार्य गरी ह्वाङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको पनि प्रवन्ध निर्देशक डोङले बताए ।

प्रतिक्रिया