कांग्रेस केन्द्रीय कार्यालयमा मुस्लिम संघको धर्ना

काठमाडाैं । नेपाली कांग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । उनीहरुले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिएको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरुले धर्नालगायत दबाब दिनुपरेको सभापति सत्तारले बताए । उनले आफूहरुको माग तत्काल सम्बोधन गर्न पार्टी नेतृत्वलाई आह्वान गरेका छन् ।
सभापति सत्तारले भने, ‘पार्टीभित्र आफूहरुले प्रवेश नै नपाउने गरी जुन अवस्था आयो । त्यसविरुद्ध धर्ना थालेका छौं । जबसम्म निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याएर आउँदैन तबसम्म यसलाई हामी जारी राख्छौं । आगामी भदौं २७ भित्र आफूहरुको माग सम्बोधन नभए थप आन्दोलनमा जानुपर्ने हुन सक्छ ।’ संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधानअनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा हुने तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दबाब दिएको हो ।

प्रतिक्रिया