मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास

नेपालखोज २०७८ भदौ २३ गते १६:४३


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले खोकनाबासीका आराध्य एवं इष्टदेवता ‘रुद्रायणी’ मन्दिर पुनर्निर्माणको आज (बुधबार) शिलान्यास गरेकी छिन्

सो अवसरमा उनले मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै खोकनावासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने बताइन् ।

ललितपुर महानगरपालिका–२१ स्थित सो मन्दिर वि.सं २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्पले पूर्णरूपमा क्षति भएको थियो । पुरातात्विक एवं एतिहासिक महत्वकाे सो मन्दिरको पुनर्निर्माण हालसम्म हुन सकेको थिएन । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोतसाधन जुटाउन समय लागेकाले पुनर्निर्माणमा ढिलाइ भएको हो ।

उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि रु ६ देखि सात कारोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालीगढको सहयोगमा तीन वर्षभित्र पुनर्निर्माण सकाउने लक्ष्य लिइएको छ । वडाध्यक्ष महर्जनका अनुसार खोकनाबासीले यस देवीको आराधाना गर्दा दु : ख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रहिआएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा आश्विन शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म लाग्नेछ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पनि सहभागिता थियो । रासस

प्रतिक्रिया