वाग्मतीका ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ

मकवानपुर । वाग्मती प्रदेशका नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेकी थिइन् ।
नवगठित मन्त्रिपरिषदमा डाक्टर अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । नियुक्त भएका ६ मन्त्रीलाई प्रदेश प्रमुख यादव शर्माले सपथ ग्रहण गराए ।
त्यस्तै, मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री शाक्यले सपथ ग्रहण गराइन् ।

प्रतिक्रिया