‘ओलीले दिएको अभिव्यक्ति सत्तामा पुगेपछिको उन्मादको अभिव्यक्ति’

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सत्तामा पुगेपछिको उन्मातको अभिव्यक्ति भएको निष्कर्ष निकालेको छ ।
बुधवार बसेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद् बिरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना नेकपा एकीकृत समाजवादीका सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भन्नु मिडिया खपतको लागि मात्रै भएको बताए ।
उनले एउटा दलको नेतालाई संसदमा उपस्थित भए संसद् नै चल्न नदिने भन्ने उनी को हुन् भन्दै प्रश्न गरे । सांसद् खतिवडाले संसदमा उपस्थित हुँदा आफूहरुले संयमित भएर प्रतिवाद गर्ने तर संयमतालाई पनि उल्लंघन गर्न खोजे जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिए ।
सांसद खतिवडाले संसदमा तोकिएको ठाउँमा बस्ने बताउँदै एमालेका नेताहरुले उठाएका कुराहरुको प्रतिवाद गर्ने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै षड्यन्त्रहरु असफल भइरहेको बताए ।

प्रतिक्रिया