पुनले भने – एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गर्‍यो

नेपालखोज २०७८ भदौ २३ गते १९:४२

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गरेको दावी गरेका छन् ।

आचरण बाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद् अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरित काम गरेको नेता पुनको तर्क छ । संसद् अवरुद्ध भएपछि संसद् भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद् अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दावी समेत गरे ।

नेता पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका विजनेशहरुलाई सूचारु गराउन संसद् चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरे । नेता पुनले अदालतमा विचाराधिन विषय प्रवेश गराएर संसद् अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुने पनि बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको स्पष्ट पारे । संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नी सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पुर्‍याएको आरोप समेत लगाए ।

सचिव भट्टराईले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केशका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टीनै प्रदान हुन्छ । पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उलंघन भयो भने, ह्वीप उलंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

यता, सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद् रामकुमारी झाँक्रीले एमालेलाई संसदका हत्याराको संज्ञा दिएका छन् । सांसद् झाँक्रीले संसदका हत्याराहरुले आफूहरुलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया