आइतबार, जेठ ६, २०८१

तीजको व्रत र महत्त्व

नेपालखोज २०७८ भदौ २४ गते ५:००

पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भिड लाग्छ । तीजको दरमा विशेष गरेर घ्यु राखेर पकाएको भात, कांक्राको अचार, गाभा, तामा, चिचिन्नोको तरकारी, आलुको अचार लगायतका परिकारहरु बनाएर खाने गरिन्छ र भोलिपल्ट तीज को दिनभर ब्रत बस्ने र साँझ भगवान शिवजीको पुजाआज गरी दहिकेरा खाने चलन छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ ।

धार्मिक महत्त्व

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।

सोही तिथीदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

प्रतिक्रिया