पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानुन बन्छ : मन्त्री कार्की

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला cले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो–बिडमा जाने परिपाटीका कारण निर्माण उद्योगमा समस्या देखिएको धारणा राखे ।
“लो–बिडमा जाने समस्या समाधानका लागि कानुन नै संशोधन गर्नुपर्छ, यसका लागि सरकारले काम गर्छ, आयोजनानुसार निर्माण व्यवसायीले आफ्नो क्षमता बढाउँदै लैजानुपर्छ” उनले भने। भेटमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीको विद्यमान समस्या सम्बन्धमा पनि जानकारी गराएको छ ।
कोभिड–१९ लगायतका विभिन्न कारणले काम हुन नसकेका आयोजनाको म्याद थपको समस्यालाई समाधान हुने गरी भदौ ३ गते मन्त्रिपरिषद्बाट भएको निर्णयको महासंघले स्वागत गरेको छ । निर्माण व्यवसायीका विद्यमान समस्या जस्तैः धरौटी रकम फिर्ता, आयकर मुल्य अभिवृद्धि करमा छुट, मिनाहा, पुनर्कर्जा, ब्याज सहुलियत, बैंक ऋण किस्ता, बैंक ग्यारेण्टी नवीकरण निःशुल्क, बिमाको नवीकरण निःशुल्क र क्रेडिट लाइन खारेजीलगायतका समस्याको समाधानका लागि महासंघले आग्रह गरेको छ ।
नयाँ सरकारबाट संघीय संसद्मा प्रस्तुत हुन गइरहेको संशोधित पूरक बजेटमा ती बुँदा समावेश गरी निर्माण व्यवसायीको समस्या समाधान गरिदिन महासंघले मन्त्री कार्की समक्ष आग्रह गरेको छ । हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुन निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग पनि महासंघले मन्त्री कार्की समक्ष राखेको छ ।

प्रतिक्रिया