पहिराेले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

नेपालखोज २०७८ भदौ २५ गते १०:०४

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिराेका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उनले बताए ।

सडकखण्ड अवरुद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया