अत्यधिक टाउको दुखाइ, बहिरोपन तथा मुख सुक्नु- कोरोनाको नयाँ लक्षण
चिकित्सकहरुका अनुसार कोरोनाको दोस्रो लहर वा डेल्टा भेरियन्टको प्रकोपमा कतिपय बिरामीले नयाँ लक्षणका रुपमा पखाला, ग्यास तथा बान्ता आदिको सामना गरेका थिए ।

काठमाडौं । कोरोना भाइरस सबैभन्दा पहिले नोभेम्बर २०१९ मा चीनको वुहान सहरमा देखापरेको थियो । त्यसपछि अहिलेसम्म करिब २२ महिना बितिसकेको छ । तर संसारबाट कोरोनाको कहर कम हुने कुनै छाँटकाँट देखिँदैन ।
चिन्ताको कुरा के भने कोरोना भाइरसले आफ्नो रूप मात्र परिवर्तन गरिरहेको छैन यो संक्रमणको लक्षणमा समेत परिवर्तन देखापरिरहेको छ । कोरोनाबाट संक्रमित भएपछि मानिसमा साधारणतया: ज्वरो, गला तथा श्वास-प्रश्वासमा समस्या जस्ता लक्षण देखापर्थे । यद्यपि अहिले कोरोनामा नयाँ-नयाँ लक्षण देखापरिरहेको छ । भनिन्छ अहिले कोरोनाको लक्षणका रुपमा मानिसहरुमा अत्यधिक टाउको दुखाइका अतिरिक्त श्रवणशक्तिमा कमि आदिको समस्या पनि सिर्जना भएको पाइएको छ ।
भारतको कोभिड टास्कफोर्सका एक सदस्य डा. राहुल पण्डितका अनुसार अहिले सुन्ने क्षमतामा कमी, कन्जक्टिभाइटिस, निकै बढी कमजोरी, मुख सुक्नु तथा मुखमा र्याल कम बन्नु, लामो समयसम्म टाउको दुख्नु अनि छालामा धब्बा देखापर्नु पनि कोरोनाको लक्षणका रुपमा अगाडि आएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार आरएन कुपर अस्पतालमा ईएनटी विभागका प्रमुख डा. समीर भागर्व भन्छन्- कोभिडका कारण कान कम सुन्ने समस्या केही कम नै देखिएको छ । नशा सुन्निँदा वा संक्रमणका कारण कानको सुन्ने क्षमता केही प्रभावित हुनसक्छ । यस्तोमा बिरामीको उपचार स्टेरोइडबाट गरिन्छ ।
संक्रमितमा अलग-अलग लक्षण
कोभिडको अलग-अलग भेरियन्टमा लक्षण पनि अलग-अलग देखापरिरहेको छ । कोरोनाको दोस्रो लहरका क्रममा देखापरेको डेल्टा भेरियन्टमा कतिपय बिमारीले पखाला, ग्यास तथा बान्ताजस्ता लक्षणको पनि सामना गरे । त्यस क्रममा बिमारीमा अलग-अलग किसिमको ज्वरो देखियो । कसै-कसैलाई ज्वरो आएको पाइएन भने कसै-कसैले अचानक चर्को ज्वरोको सामना गर्नुपर्यो । यसमा कसैलाई २-३ दिन पछि ज्वरोले सतायो भने कतिपयले ज्वरो ठीक भएको केही दिन पछि फेरि त्यसको सामना गर्नुपर्यो ।
कोरोनाको तेस्रो लहरको चर्चा चलिरहँदा यसको स्वरुप तथा लक्षणले मानिसहरुका साथै विज्ञहरुलाई समेत थप झुक्याउने तथा पिरोल्ने देखिन्छ ।
प्रतिक्रिया